आशिफ शाहले रास्वपको समानुपातिक उम्मेदवारी फिर्ता लिए, काठमाडौँ–५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा


आशिफ शाहले रास्वपको समानुपातिक उम्मेदवारी फिर्ता लिए, काठमाडौँ–५ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा
  • नवकिरण
  • पौष १९, २०८२

काठमाडौं, पुस १९ – कलाकार आशिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दर्ता गराएको समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिएका छन्। सामाजिक सञ्जालमार्फत उनले उक्त निर्णय सार्वजनिक गर्दै अब काठमाडौँ–५ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

राजनीतिमा चासो भए पनि आफू सक्रिय राजनीतिमा नजोडिएको उल्लेख गर्दै शाहले देश निर्माणप्रतिको चाहना भने सधैं जीवित रहेको बताएका छन्। उनले जनअपेक्षा अनुसार बालेन साह, रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य सम्भव गराउने प्रयासमा आफू संलग्न रहेको पनि स्मरण गराएका छन्।

साथीहरूको आग्रहमा समानुपातिक बन्दसूचीमा नाम समावेश गरिएको भए पनि पछिल्ला प्रतिक्रियाहरू, सार्वजनिक बहस र पार्टीभित्रको भावना बुझ्दा आफूले आत्ममन्थन गर्नुपर्ने अवस्था आएको शाहको भनाइ छ। सही नियत हुँदाहुँदै पनि निर्णयमा त्रुटि हुन सक्ने अनुभूति भएपछि उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन्।

शाहले जनता र पार्टीका कार्यकर्ताको भावनामा चोट पुर्‍याएर समानुपातिक प्रणालीमार्फत सांसद बन्ने बाटो आफूले रोज्न नसक्ने स्पष्ट पारेका छन्। उनले जुनसुकै हैसियतमा रहे पनि देशका लागि योगदान गर्न प्रतिबद्ध रहने बताएका छन्।

यससँगै आशिफ शाहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने औपचारिक घोषणा गरेका छन्।