रनवेबाट बाहिरिएपछि ढोका खोल्नु जोखिमपूर्ण थियो : बुद्ध एयर


रनवेबाट बाहिरिएपछि ढोका खोल्नु जोखिमपूर्ण थियो : बुद्ध एयर
  • नवकिरण
  • पौष १९, २०८२

काठमाडौं, पुस १९ – झापाको भद्रपुर विमानस्थलमा भएको विमान दुर्घटनापछि ‘विमान परिचारिकाले ढोका खोल्न नदिएको’ भन्ने समाचारप्रति बुद्ध एयरले आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ।

विमान कम्पनीले शुक्रबारको घटनाबारे तथ्य स्पष्ट पार्दै विमान रनवेबाट बाहिरिएपछि बायाँतर्फ खाल्डो र पानी देखिएकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ढोका खोल्नु जोखिमपूर्ण रहेको जनाएको छ।

बुद्ध एयरका अनुसार विमान परिचारिकाले सुरक्षा मापदण्डअनुसार दायाँतर्फको ढोकाको लक खोल्ने प्रयास गरेका थिए। तर ढोका ‘जाम’ भएर नखुलेपछि उनले तुरुन्तै पछाडिको सर्भिस ढोकाबाट यात्रुहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रक्रिया अघि बढाएका थिए।

सोही क्रममा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिको दायाँ ढोका खोल्न र अन्य यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण सहयोग पुर्‍याएको कम्पनीले जनाएको छ।

संकटको अवस्थामा देखाएको साहस र सहयोगप्रति आभार व्यक्त गर्दै बुद्ध एयरले यात्रु मोक्तानलाई उचित पुरस्कारसहित सम्मान गर्ने घोषणा समेत गरेको छ।