काठमाडौं, पुस २० – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत जाने भएका छन्। नेपाली समाज भारतले आयोजना गर्न लागेको ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा सहभागी हुन उनी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुने प्रचण्डले भारतमा रहेका नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध सुदृढीकरण, प्रवासी नेपालीका समस्या र सम्भावनाबारे धारणा राख्ने कार्यक्रम छ।
नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
प्रचण्ड भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ। सचिवालयका अनुसार भारत भ्रमणका क्रममा उनका अन्य राजनीतिक भेटघाट तय भएका छैनन्।
