विराटनगर, चैत ४ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका २ को बालावेशीमा आज एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा एक जना घाइते भएका छन्, तर मानवीय क्षति भएको छैन भन्ने जानकारी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दिइन्।
दुर्घटना मंगलबार दिउँसो १२:०२ बजेको समयको हो। एयर डाइनेष्टिको नाइन एन एएचक्यु हेलिकप्टर अवतरणको क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले बताएको छ। हेलिकप्टरमा पाइलट सविन थापा र पाँच जना यात्रु सवार थिए।
प्रहरीका अनुसार, यो परिवार काठमाडौंबाट आमाको कामका लागि खोटाङ आएको थियो। यात्रुहरू आमाको काजकिरियाका लागि यात्रा गरिरहेका थिए। दुर्घटनामा पाइलट थापासहित अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ, तर ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्।
घाइते राईलाई उपचारका लागि एयर डाइनेष्टिको अर्को हेलिकप्टर मगाएर काठमाडौं पठाइएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
