वर्षाले दाउन्ने खण्ड ठप्प, सवारी आवागमन पूर्ण रुपमा प्रभावित


वर्षाले दाउन्ने खण्ड ठप्प, सवारी आवागमन पूर्ण रुपमा प्रभावित
  • नवकिरण
  • चैत्र ७, २०८२

नवलपरासी पूर्व, चैत ७ – लगातारको वर्षाका कारण नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारको ६४ मोड आसपास सडक मर्मत भइरहेको क्षेत्रमा हिलो र चिप्लोपन बढेपछि सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार शुक्रबारदेखि प्रभावित बनेको उक्त सडकखण्डमा शनिबार बिहानको वर्षापछि अवस्था झन् जटिल बनेको छ। हाल राजमार्ग दुवैतर्फबाट पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ।

यसैबीच, नारायणघाट–बुटवल सडक योजनाले रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाएको छ। शुक्रबारदेखि लागू गरिएको निर्णयअनुसार चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्किवास–दाउन्ने–बर्दघाट खण्डमा यस्ता सवारी चल्न नपाउने जनाइएको छ।

योजनाले ठूला सवारी साधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किवास बजार क्षेत्रमा रोकेर व्यवस्थापन गर्ने जनाएको छ। तर यात्रुवाहक तथा आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न अनुमति दिइएको छ।

सडक विस्तार तथा मर्मत कार्य जारी रहेको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक अत्यधिक चिप्लो हुँदा विशेषगरी मालवाहक सवारी साधन चिप्लिने र अड्किने समस्या बढेपछि यस्तो निर्णय गरिएको हो।

दाउन्ने खण्ड बन्द भएपछि पश्चिमतर्फबाट आउने सवारीलाई सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो। तर, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि उक्त वैकल्पिक मार्ग पनि अवरुद्ध हुँदा यात्रु थप समस्यामा परेका छन्।