गोरखा दरबारबाट सुरु भयो एकीकरण पदयात्रा, तनहुँ हुँदै पाल्पा पुग्ने


गोरखा दरबारबाट सुरु भयो एकीकरण पदयात्रा, तनहुँ हुँदै पाल्पा पुग्ने
  • नवकिरण
  • चैत्र २७, २०८२

तनहुँ, चैत्र २७ – नेपाली सेनाले गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । राष्ट्र एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले प्रयोग गरेको ऐतिहासिक पदमार्गको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित पदयात्रा अघि बढाइएको हो ।

सेनाका अनुसार पदयात्राको मुख्य लक्ष्य मार्गमा रहेका ऐतिहासिक कोट, गढी तथा किल्लाहरूको संरक्षणमा ध्यान आकर्षित गर्नुका साथै सर्वसाधारणलाई तिनको ऐतिहासिक महत्वबारे जानकारी गराउनु हो ।

गोरखा दरबारबाट शुक्रबार बिहान प्रारम्भ गरिएको यो यात्रा तनहुँका विभिन्न स्थान हुँदै अघि बढ्नेछ । पदयात्राको मार्ग सतिघाट, भन्सार, भीमसेनगढी, बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल, तनहुँसुर, धेनुङ देउराली र केलादीघाट हुँदै तय गरिएको छ ।

यो पदयात्रा आगामी वैशाख ७ गते पाल्पाको जितगढी पुगेर समापन हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

यस अभियानले ऐतिहासिक पदमार्गको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।