काठमाडौँ, चैत २० – मेडिकल व्यवसायी दुर्गा प्रसाई ले वर्तमान सरकारले भ्रष्टाचार, तस्करी र बिचौलियाविरुद्ध थालेका कदमहरूको प्रशंसा गरेका छन्। उनले सरकारका पछिल्ला गतिविधिले आफूले उठाउँदै आएका मुद्दाहरूलाई सम्बोधन गरेको बताएका छन्।
शनिबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले विगत चार वर्षदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएको उल्लेख गरे। विभिन्न स्थानमा एलइडीमार्फत सामग्री सार्वजनिक गर्दा आफूलाई पटक–पटक नियन्त्रणमा लिएको दाबी पनि गरे।
प्रसाईले केही सीमित परिवार र बिचौलिया समूहले देशको बैंकिङ, सहकारी र रेमिटेन्स क्षेत्रमा प्रभाव जमाएको आरोप लगाए। यसले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको उनको भनाइ छ।
उनले गृहमन्त्री र काठमाडौं महानगर प्रमुख बालेन शाह लगायतले सञ्चालन गरिरहेको कारबाहीप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफू उत्साहित भएको बताए।
यद्यपि, सरकारका सबै निर्णयमा सहमत नभएको स्पष्ट पार्दै उनले केही नीतिगत विषयमा असहमति जनाएका छन् र भ्रष्टाचारविरुद्धको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिएका छन्।
