काठमाडौं, चैत २७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फेरि एकपटक यात्रु बिदाइका क्रममा अनावश्यक भीड नगर्न आग्रह गरेको छ। विमानस्थल प्रशासनले एक यात्रुलाई बिदाइ गर्न बढीमा तीन जना मात्रै आउन अनुरोध गर्दै सूचना जारी गरेको हो।
प्रशासनका अनुसार पछिल्लो समय एक यात्रुलाई बिदाइ गर्न ८–१० जनासम्म विमानस्थल पुग्ने प्रवृत्ति बढ्दै गएको छ। यसले विमानस्थल परिसरमा अत्यधिक भिडभाड सिर्जना गरेको छ।
अत्यधिक भीडका कारण सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको र यात्रु आवागमनमा असहज अवस्था सिर्जना भएको विमानस्थलले जनाएको छ। विशेषगरी स्वदेशी तथा विदेशी यात्रु दुवैलाई यसले असुविधा पुर्याएको उल्लेख गरिएको छ।
विमानस्थल कार्यालयले यसअघि पनि पटक–पटक यस्तो अनुरोध गर्दै आएको भए पनि अपेक्षित रूपमा भीड नियन्त्रण हुन सकेको छैन। त्यसैले पुनः सचेत गराउँदै नियम पालना गर्न आग्रह गरिएको हो।
प्रशासनले यात्रुका आफन्त तथा सर्वसाधारणलाई सहयोग गर्न अपिल गर्दै, आवश्यकभन्दा बढी भीड नगर्न र निर्धारित सीमा भित्रै बिदाइ गर्न अनुरोध गरेको छ।
