काठमाडौं, चैत २८ – वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकले अब विमानस्थलमा अतिरिक्त रसिद वा भुक्तानीका कागजात पेस गर्नुपर्ने छैन । अध्यागमन विभागले यसबारे स्पष्ट गर्दै श्रम स्वीकृति पत्र र राहदानीजस्ता आधारभूत कागजात मात्रै पर्याप्त हुने जनाएको छ ।
हालै वैदेशिक रोजगार विभागले जारी गरेको सूचनापछि श्रमिकहरूबीच अन्योल सिर्जना भएको भन्दै अध्यागमन विभागले नयाँ स्पष्टिकरण दिएको हो । विभागका अनुसार विदेश प्रस्थानका क्रममा अनावश्यक कागजात माग गरिने छैन ।
अध्यागमन विभागले श्रम स्वीकृति र राहदानीबाहेक थप बिल वा रसिद आवश्यक नपर्ने उल्लेख गर्दै श्रमिकलाई सहज यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ । यसले विदेश जाने प्रक्रियालाई थप सरल बनाउने अपेक्षा गरिएको छ ।
यस्तै, विदेश जाने नागरिकलाई कुनै भ्रममा नपर्न र गन्तव्य देश तथा यात्रासम्बन्धी जानकारी पूर्ण रूपमा लिएर मात्र यात्रा गर्न विभागले सुझाव दिएको छ ।
‘भिजिट भिसा’मार्फत विदेश जानेहरूका लागि पनि कम्तीमा ६ महिना म्याद भएको राहदानी, हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित यात्रा गर्न पाइने व्यवस्था यथावत् रहेको जनाइएको छ ।
