नेता मोहम्मद अफताव आलमसहित चार जनालाई उच्च अदालतबाट सफाइ


नेता मोहम्मद अफताव आलमसहित चार जनालाई उच्च अदालतबाट सफाइ
  • नवकिरण
  • जेष्ठ १४, २०८२

वीरगञ्ज, जेठ १५ — उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई सफाइ दिएको छ। अदालतको बुधबार बसेको इजलासले उनीहरूलाई राजपुर बम काण्ड र त्यसपछि भएको नरसंहारसम्बन्धी मुद्दामा दोषमुक्त ठहर गर्दै सफाइ दिएको हो।

न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमसहित चार जनालाई सफाइ दिएको हो।

उच्च अदालत वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीका अनुसार आलमसँगै उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज (शेख सराज) र बद्री सहनीले सफाइ पाएका हुन्।

“वरदात पुष्टि हुन नसकेको कारणले जिल्ला अदालतको फैसला उल्टाइएको हो,” रजिस्ट्रार भण्डारीले बताए।

यसअघि रौतहट जिल्ला अदालतले इँटाभट्टामा मानिसलाई जिउँदै जलाएको, विस्फोटक पदार्थको प्रयोग गरेको तथा ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा आलमसहितलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

२०६४ साल चैत २७ गते संविधान सभा निर्वाचनको अघिल्लो दिन बेलुकी करिब ६ बजे बम बनाउने क्रममा विस्फोट भएको थियो। प्रहरी अनुसन्धान अनुसार उक्त विस्फोटमा घाइते भएका मानिसलाई नेता आलमको निर्देशनमा ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाइएको थियो।

हाल मोहम्मद अफताव आलम कारागार कार्यालय नख्खुमा छन्।