बुटवल, मंसिर १ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले आगामी निर्वाचन गराउन सक्ने वातावरण छैन भनेर टिप्पणी गरेका छन्।
सोमबार बुटवलमा प्रेस चौतारी रुपन्देहीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थापन गर्ने तयारी र क्षमता दुवै कमजोर रहेको दाबी गरे।
महासचिव पोखरेलका अनुसार निर्वाचन आयोगले केही काम अघि बढाए पनि सरकारले आवश्यक सहयोग र समन्वय नगरेका कारण चुनाव सम्भव नदेखिएको हो। उनले अहिले बनेको सरकारलाई ‘असंवैधानिक’ भन्दै यसले वैधानिकताको आधारमै निर्वाचन गराउन असमर्थ रहेको आरोप लगाए।
उनले संविधान तथा कानुन संशोधनजस्ता संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सहमति अनिवार्य हुने बताए। तर, वर्तमान सरकारले दलहरूको मत सुन्न नचाहेको उनले आरोप लगाए। “राजनीतिक सहमति बिना कुनै संवैधानिक मार्ग अघि बढ्न सक्दैन,” पोखरेलले भने।
जेनजी आन्दोलनको प्रसंग उठाउँदै महासचिव पोखरेलले आन्दोलन नेपाली नागरिकबाट होइन, विदेशी शक्तिको प्रभावमा प्रेरित भएको दाबी गरे। उनका अनुसार आगजनी, तोडफोड र विध्वंसक गतिविधिमा प्रयोग गरिएका धेरै व्यक्तिहरू वास्तविक नागरिक आन्दोलनकारी होइनन्। गत भदौ २३ र २४ गते भएको विध्वंसका कारण देश दशकभर बराबरको क्षति भएको उनले बताए।
पत्रकारहरूले सोधेको प्रश्नमा उनले पूँजीवादी शक्तिहरूले सरकारलाई असफल बनाउन विभिन्न दबाब सिर्जना गरिरहेको पनि बताए। उनका अनुसार षड्यन्त्रकारी गतिविधि बढिरहेको बेला एमालेभित्र ऐक्यबद्धता सबैभन्दा जरुरी रहेको छ।
यसै क्रममा पोखरेलले एमालेले वैधानिक प्रक्रियाबाटै समाधान खोज्ने विकल्प अघि सारेको जानकारी दिए। उनले जेनजी आन्दोलनका मागहरू लोकतान्त्रिक तरिकाले समाधान गर्न सकिने बताउँदै सदभावपूर्ण संवाद र सहमति नै निकासको बाटो भएको उल्लेख गरे।
