ओलीको प्रष्टोक्ति : हिंसाबाट आएको सत्ता स्वीकार्य छैन


ओलीको प्रष्टोक्ति : हिंसाबाट आएको सत्ता स्वीकार्य छैन
  • नवकिरण
  • मंसिर २७, २०८२

काठमाडौँ, मंसिर २७ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धका माध्यमबाट आएको परिवर्तन स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले समाज परिवर्तनका लागि शान्तिपूर्ण बाटो नै उपयुक्त हुने बताए।

वर्तमान सरकार हिंसाको पृष्ठभूमिबाट बनेको आरोप लगाउँदै ओलीले त्यसलाई आफूहरूले स्वीकार नगर्ने र भविष्यमा पनि नस्वीकार्ने दोहोर्‍याए।

‘हिंसा वा युद्धलाई परिवर्तनको साधन बनाउन सकिँदैन र बनाइनु हुँदैन,’ उनले भने, ‘जनताको मन जितेर, शान्तिपूर्ण प्रक्रियाबाट पनि समाजलाई परिवर्तन गर्न सकिन्छ।’

विविधता र बहुलता नेपाली समाजको शक्ति भएको उल्लेख गर्दै ओलीले त्यसलाई दूरी बढाउने विषयका रूपमा बुझ्नु गलत भएको बताए। ‘विविधतामा एकता हाम्रो मूल मन्त्र हो,’ उनले भने, ‘यही कुरा गर्दा पनि हामीमाथि आक्रमण हुन्छ।’

संविधान संशोधन गर्ने अधिकार जनप्रतिनिधिकै भएको उल्लेख गर्दै उनले स्वतन्त्रता प्रयोग गर्ने अधिकारको जिम्मेवार उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।