काठमाडौँ, पुस २३ – माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच चुनावी तालमेल नहुने भएको छ। सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपाले कांग्रेस र एमालेसँगको सहकार्यबाट अलग हुने निर्णय गरेको हो।
मतभारका आधारमा कम्तीमा चार सिट माग गर्दै नेकपाले छलफल गरेको भए पनि कांग्रेस र एमाले सहमत नभएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको बैठकबाट नेकपा बाहिरिएको जनाइएको छ। त्यसपछि पार्टीले एकल उम्मेदवारीको तयारी थालेको छ।
नेकपाका मुख्यसचिव गणेशमान पुनले सम्मानजनक सिट बाँडफाँट नहुँदा एक्लै चुनाव लड्ने तयारी गरिएको बताए। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले पनि अब कांग्रेस र एमालेसँग सहकार्य सम्भव नरहेको स्पष्ट पारे।
उता, कांग्रेस नेता रमेश लेखकका अनुसार १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र जनता समाजवादी पार्टीले १ सिट पाउने गरी सहमति भएको छ। यद्यपि नेकपाले उम्मेदवारी दिए पनि संवादको सम्भावना खुला नै रहेको जनाएको छ।
