सञ्चारमन्त्री खरेल: निर्वाचनमा उम्मेदवारीबारे कुनै निर्णय भएको छैन


सञ्चारमन्त्री खरेल: निर्वाचनमा उम्मेदवारीबारे कुनै निर्णय भएको छैन
  • नवकिरण
  • पौष २३, २०८२

काठमाडौं, पुस २३ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चले पनि आफूले अहिलेसम्म त्यसबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको बुधबारको कार्यक्रममा बोल्दै मन्त्री खरेलले भने, “मैले चुनावमा उठ्ने वा नउठ्ने बारे कुनै निर्णय गरेको छैन। अहिलेसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन, कुनै वार्ता वा छलफल गरेको छैन। मेरो सम्पूर्ण ध्यान वर्तमान अन्तरिम सरकारको नेतृत्वमा चुनाव सफल पार्नमा केन्द्रित छ।”

मन्त्री खरेलले केही सञ्चार माध्यमले गलत समाचार सम्प्रेषण गरेकोमा असन्तुष्टि व्यक्त गर्दै भने, “आजसम्म म कुनै पनि पार्टीमा छैन र चुनावमा उठ्ने वा नउठ्ने बारे केही निश्चित भनेको छैन। सत्य समाचार यहीँबाट तपाईंहरूसम्म पुगोस भन्ने मेरो इच्छा हो।”

उनले आफ्नो उपस्थितिमा सरकारको काममा ध्यान दिनु आवश्यक भएको बताउँदै निर्वाचनमा उम्मेदवारीबारे निर्णय लिन समय लाग्ने संकेत पनि गरेका छन्।