काठमाडौं, पुस २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची संशोधन गर्ने तयारी गरेको छ। उज्यालो नेपालसँग भएको एकता सम्झौता टुटेपछि पार्टीले सूची अध्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको हो।
रास्वपाका नेता गणेश पराजुलीका अनुसार, यसअघि उज्यालो नेपालसँग एकता हुँदा दुबै दलबीच सहमतिअनुसार समानुपातिक सूची तयार पारेर आयोगमा बुझाइएको थियो। तर शनिबार साँझ दुई दलबीचको एकता औपचारिक रूपमा अन्त्य भएपछि सो सूचीमा रहेका उज्यालो नेपालतर्फका नाम हटाएर नयाँ विवरण पेश गर्न लागिएको हो।
आयोगमा बुझाइने नयाँ सूचीमा रास्वपाले आफ्ना उम्मेदवारहरूको नाम मात्र समेट्ने तयारी गरेको बताइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले कानुनी प्रक्रिया अनुसार सूची अध्यावधिक गर्न लागेको हो।
