काठमाडौं, पुस २७ – नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंमा र्याली निकाल्ने क्रम सुरु भएको छ। राजधानीका विभिन्न क्षेत्रबाट नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन्।
शंकरदेव क्याम्पस, कुपण्डोल (ललितपुर) लगायतका स्थानबाट र्याली सुरु गरिएको हो। र्यालीमा सहभागीहरूले पार्टी नेतृत्वमा परिवर्तन आवश्यक रहेको भन्दै नाराबाजी गरेका छन्।
कुपण्डोलबाट निस्किएको र्यालीमा कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको छ।
विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा तय भएकाले विभिन्न स्थानबाट निस्किएका र्यालीहरू त्यतैतर्फ अघि बढिरहेका छन्। कांग्रेसले महाधिवेशनलाई प्रभावकारी बनाउन राजधानीभरि संगठित रूपमा र्याली आयोजना गरेको जनाएको छ।
