काठमाडौँ, माघ ५ – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै उनले सरकारबाट बाहिरिने निर्णय लिएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा सिरहा पुगेका गुप्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इमेलमार्फत राजीनामा बुझाएको जानकारी दिएका छन्। साथै, उनले टेलिफोनमार्फत प्रधानमन्त्रीलाई पनि आफ्नो निर्णयबारे अवगत गराइसकेको बताएका छन्।
“निर्वाचनमा उम्मेदवारी दिने प्रक्रियाका लागि म हाल सिरहामा छु। यही सिलसिलामा इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाएको हुँ,” गुप्ताले भने, “प्रधानमन्त्रीलाई फोन गरेर पनि जानकारी गराइसकेको छु।”
जेनजी आन्दोलनपछि गठन भएको वर्तमान मन्त्रिपरिषद्मा गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी सरकारमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने प्रमुख अनुहारका रूपमा चिनिन्थे। निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न र कानुनी प्रक्रिया पूरा गर्न उनले निर्वाचनअघि नै मन्त्री पदबाट राजीनामा दिने निर्णय लिएको जनाइएको छ।
