काठमाडौं, माघ ५ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि आवश्यक शान्ति–सुरक्षा अझै सुनिश्चित हुन नसकेको बताएका छन्। सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार चुनावी वातावरण बनाउन असफल भएको आरोप लगाए।
समाजमा विभिन्न किसिमका आपराधिक गतिविधि निरन्तर भइरहेकाले सुरक्षा व्यवस्था कमजोर देखिएको ओलीको भनाइ थियो। उनले निर्वाचन आयोगको निष्पक्षता र क्षमतामाथि समेत प्रश्न उठ्ने अवस्था बनेको उल्लेख गर्दै यस्तो परिस्थितिमा निर्वाचन शान्तिपूर्ण र भयरहित हुन्छ भन्नेमा आशंका व्यक्त गरे।
यद्यपि, अध्यक्ष ओलीले एमाले कुनै पनि परिस्थितिमा निर्वाचन प्रक्रियाबाट पछि नहट्ने स्पष्ट पारे। ‘हामी जस्तोसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ,’ उनले भने, ‘तर त्यसका लागि शान्ति–सुरक्षाको स्थिति राम्रो हुन आवश्यक छ, जुन अहिलेसम्म बनिसकेको छैन।’
यसै क्रममा सञ्चारकर्मीले झापा–५ निर्वाचन क्षेत्र इपिसेन्टर बनेको विषयमा प्रश्न गरेपछि ओलीले त्यसलाई अस्वीकार गरे। उनले झापा–५ लाई कुनै पनि अर्थमा इपिसेन्टर भन्न नमिल्ने भन्दै यस्तो दाबीलाई ‘वाइयात कुरा’ भनेका छन्।
