काठमाडौं, चैत ३ – राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले सांसदको तलब नलिने घोषणा गरेका छन्। गोरखा–१ बाट निर्वाचित गुरुङले आफू आर्थिक रूपमा सक्षम भएकाले तलब आवश्यक नरहेको बताएका हुन्।
मंगलबार आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ‘तलब किन लिनु पर्ने हो र?’ भन्ने प्रश्न उठाउँदै आफूले राज्यको तलब नलिने स्पष्ट पारे। उनले व्यक्तिगत रूपमा कुनै सुविधा नलिने धारणा पनि राखे।
गुरुङले सरकारी सवारी प्रयोग नगरी आफ्नै निजी गाडी प्रयोग गर्ने बताएका छन्। उनले सार्वजनिक स्रोतको अनावश्यक प्रयोग नगर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।
यसअघि पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए, जसबारे थप स्पष्ट पार्न पत्रकारहरूले प्रश्न गरेका थिए। त्यसक्रममा उनले आफू सक्षम भएकाले तलब लिनु आवश्यक नदेखेको बताएका हुन्।
