‘यो अन्त्य होइन सुरुवात हो’ : गगन थापा को राजीनामा सन्देश


‘यो अन्त्य होइन सुरुवात हो’ : गगन थापा को राजीनामा सन्देश
  • नवकिरण
  • चैत्र ५, २०८२

काठमाडौं, चैत ५ – नेपाली कांग्रेसका सभापति गगन थापा ले प्रतिनिधि सभा निर्वाचनपछि पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएको पत्रमा ‘बदलिएको कांग्रेस’को सन्देश मतदातासम्म पुर्‍याउन पर्याप्त समय नपाएको बताएका छन्।

विशेष महाधिवेशनपछि छोटो समयमै नेतृत्व सम्हाल्दै निर्वाचनमा जानुपरेको भन्दै थापाले पार्टीभित्र सुधार सुरु भए पनि त्यसको प्रभाव जनतासम्म पुग्न नसकेको बताएका छन्। समय अभाव नै कमजोर नतिजाको मुख्य कारण रहेको उनको भनाइ छ।

निर्वाचन परिणामप्रति पूर्ण जिम्मेवारी लिँदै उनले नेतृत्वको हैसियतले जवाफदेहिता आफूले लिनुपर्ने स्पष्ट पारेका छन्। केही प्राविधिक काम सकिन बाँकी रहेकाले राजीनामा केही समय ढिलाइ गरिएको पनि जनाइएको छ।

समानुपातिक सूची निर्वाचन आयोग मा पठाएपछि मात्र राजीनामा दिएको उल्लेख गर्दै थापाले अब पार्टी पुनर्निर्माणमा सक्रिय रहने बताएका छन्। उनले यो निर्णय अन्त्य नभई सुधारको सुरुआत भएको बताएका छन्।