काठमाडौं, चैत १२ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले आफ्नो पार्टीले सरकारप्रति रचनात्मक र आलोचनात्मक दुवै किसिमको समर्थन गर्ने नीति लिएको बताएका छन्।
संसद्मा शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू प्रतिपक्षमा रहने भए पनि राम्रो काममा सरकारलाई साथ दिने स्पष्ट पारे। उनका अनुसार प्रतिपक्षको भूमिका भनेको हरेक विषयमा विरोध गर्नु मात्र नभई सकारात्मक कामलाई समर्थन गर्नु पनि हो।
“हामी प्रतिपक्षमा बस्छौं, किनकि जनताले दिएको म्यान्डेट त्यही हो। तर राम्रो काम भएमा हामी खुलेर समर्थन गर्छौं,” उनले भने।
साम्पाङले यसपटकको संसद्मा धेरै नयाँ अनुहार रहेको उल्लेख गर्दै आफूहरूलाई सिक्ने अवसर पनि धेरै रहेको बताए। उनले जिम्मेवारी बढेको महसुस भएको भन्दै पहिले प्रश्न गर्ने ठाउँमा रहेको आफू अहिले जवाफदेही बन्ने स्थानमा पुगेको अनुभव सुनाए।
“पहिले प्रश्न गर्ने थियौं, अहिले उत्तर दिनुपर्ने ठाउँमा छौं। उत्साहभन्दा बढी जिम्मेवारीको अनुभूति भएको छ,” उनले थपे।
