स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : सांसद माया राईविरुद्ध ३७ लाखभन्दा बढीको बिगो माग गर्दै मुद्दा दर्ता


स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : सांसद माया राईविरुद्ध ३७ लाखभन्दा बढीको बिगो माग गर्दै मुद्दा दर्ता
  • नवकिरण
  • बैशाख ३०, २०८२

काठमाडौं, वैशाख ३० – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्था लिमिटेडमा ठगी भएको प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो माग गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

सांसद राईले सो सहकारीमा सहसचिवको जिम्मेवारी सम्हाल्दाको क्रममा संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेको छ। उनलाई सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा पूरक अभियोजनमार्फत प्रतिवादी बनाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलले अदालतमा मुद्दा दायर गरेको हो। यसअघि पुस २१ गते सोही प्रकरणमा ३९ जनाविरुद्ध ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।

सांसद राईलाई सुरुवातमा उन्मुक्ति दिइएको भए पनि सो निर्णयको चौतर्फी आलोचना भएपछि वैशाख १३ गते प्रहरीले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेको थियो। संगठित अपराधसम्बन्धी कानुन अनुसार ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भए पनि राईको हकमा १७ दिनमै मुद्दा अदालतमा पेस गरिएको हो।

यसअघि सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्य व्यक्तिहरूमाथि पनि मुद्दा दायर गरिएको थियो। उनीहरू धरौटीमा रिहा भइसकेका छन्।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अहिले देशकै चर्चित सहकारी घोटालामध्ये एक बनेको छ। सयौं बचतकर्ताको जीवनभरको पसिनासँग जोडिएको यो घटनाले सहकारी क्षेत्रको पारदर्शिता र नियमनमा प्रश्न खडा गरेको छ। अब अदालतले कसरी फैसलाको बाटो खोल्छ भन्ने कुराले सार्वजनिक चासो बढाएको छ।