काठमाडौं, साउन ३० – भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल भ्रमणमा आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
नेपाल बसाइका क्रममा जनरल सेठलाई विशेष सैन्य सम्मान प्रदान गरिने भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।
यसैगरी, भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच भोलि जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता हुने भएको छ। भेटवार्तामा नेपाल–भारत सैन्य सहकार्य र दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा सैनिक अनुभव आदानप्रदान हुँदै आएको छ। दुवै मुलुकका सेनाबीच कायम रहेको नियमित सहकार्यले द्विपक्षीय सम्बन्धलाई समेत थप मजबुत बनाउँदै आएको छ।
नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको सम्मान दिने परम्परा भने सन् १९५० देखि सुरु भएको हो। नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने यो अभ्यासलाई दुई देशबीचको ऐतिहासिक मित्रता र पारस्परिक सम्मानको प्रतीकका रूपमा लिइन्छ।
