नवलपरासी, साउन ३० – पश्चिम नवलपरासीमा एक निजी विद्यालयका प्रिन्सिपलमाथि छात्रालाई अश्लील प्रकृतिको सन्देश पठाएको आरोप लागेको छ। आरोपपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सुस्ता गाउँपालिका–१ सिङाहास्थित न्यू लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय भरत न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार न्यौपानेले सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील भाव झल्किने सन्देश पठाएका थिए। घटनाबारे जानकारी पाएपछि पीडित पक्षले प्रहरीसमक्ष जाहेरी दिएको थियो।
जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीले शनिबार राति न्यौपानेलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गराई घटनासम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। अनुसन्धानका क्रममा सन्देशको प्रकृति, घटनाको वास्तविकता तथा अन्य प्रमाणहरूबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित भनिएका म्यासेजहरू सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान पूरा गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
