उपत्यकामा एकैदिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात स्थानबाट वितरण हुने


उपत्यकामा एकैदिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात स्थानबाट वितरण हुने
  • नवकिरण
  • श्रावण ३०, २०८३

काठमाडौँ, साउन ३० – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्तालाई लक्षित गर्दै शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरेको छ।

निगमका अनुसार टेकु, चावहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो। ती केन्द्रमा उपभोक्ताको चाप बढेपछि कतिपय ब्रान्डका सिलिन्डर मागअनुसार उपलब्ध हुन सकेनन्।

समयमै बिक्री केन्द्रमा पुगेका तर ग्यास पाउन नसकेका उपभोक्तालाई भने कुपनको व्यवस्था गरिएको निगमले जनाएको छ। कुपन प्राप्त गरेका उपभोक्तालाई भोलिपल्ट प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ।

निगमले आइतबार उपत्यकाका थप सात स्थानबाट एलपी ग्यास बिक्री गर्ने तयारी गरेको छ। टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका सिलिन्डर बिक्री गरिनेछ।

त्यस्तै बूढानीलकण्ठको चापलीस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र मनु ब्रान्डका ग्यास उपलब्ध हुनेछन्। कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्ड वितरण गरिने निगमले जनाएको छ।

बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री हुनेछन्। चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास वितरण गरिनेछ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन व्यवसायीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित बिक्री गर्न आग्रह गरेको छ।

ग्यास पाउन नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।