संखुवासभा, वैशाख ३१ — संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
बुधबार दिउँसो करिब ४ बजे चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीका अनुसार उनी घरमै बसेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिए पनि उनको त्यहीँ मृत्यु भएको हो।
उक्त घटनामा १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ पनि गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जानकारी दिएको छ।
निर्मलाको शव हाल प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। संखुवासभामा पछिल्लो एक वर्षको अवधिमा चट्याङ लागेर पाँच जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ।