धनुषा र रौतहटमा पानीमा डुबेर दुई जनाको मृत्यु


धनुषा र रौतहटमा पानीमा डुबेर दुई जनाको मृत्यु
  • नवकिरण
  • जेष्ठ ३, २०८२

धनुषा र रौतहटमा शुक्रबार अलग–अलग स्थानमा पानीमा डुबेर दुई जनाको ज्यान गएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मुसहरी टोलमा रहेको रघुपति पार्टी प्यालेसको स्वीमिङ पुलमा डुबेर ४ वर्षीय रञ्जित कुमार पासवानको मृत्यु भएको हो।

स्थानीय रामकुमार पासवानका छोरा रञ्जित शुक्रवार साँझ स्वीमिङ पुलमा डुबेका थिए। गम्भीर अवस्थामा उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

उता, रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बाग्मती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। भारतको बिहार, सितामढीका २८ वर्षीय हिमान्शु कुमार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

शुक्रवार दिउँसो बेपत्ता भएका उनको शव शनिबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी पौराहीबाट खटिएको टोलीले फेला पारेको हो।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।