चितवनमा बाबुले छोरी र भतिजको हत्या, शोकमा विद्यालय बन्द


चितवनमा बाबुले छोरी र भतिजको हत्या, शोकमा विद्यालय बन्द
  • नवकिरण
  • जेष्ठ ४, २०८२

चितवन, जेठ ४ – भरतपुर–२५ मा एक दर्दनाक घटना घटेको छ। शुक्रबार बिहान ४२ वर्षीय लिलाराज गिरीले आफ्नी सात वर्षीया छोरी प्रभा र पाँच वर्षीय भतिज सजनलाई खुर्पा प्रहार गरी हत्या गरेका छन्।

उनीहरू मदरल्याण्ड बोर्डिङ स्कुलका विद्यार्थी थिए र स्कुल जान लाग्दा घरमै आक्रमणमा परेका हुन्। हत्या पछि लिलाराजले आफूलाई पनि घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन्। उनी हाल चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत छन्।

प्रहरीका अनुसार लिलाराज केही समयदेखि मानसिक समस्या र डिप्रेशनको औषधि सेवन गर्दै आएका थिए।

घटनाले विद्यालय र स्थानीय समुदायमा शोक र त्रास फैलिएको छ। मदरल्याण्ड बोर्डिङ स्कुलले आइतबार कक्षा स्थगित गर्दै विद्यालय बन्द गरिएको जनाएको छ।