बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु, एक गम्भीर घाइते


बर्दियामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु, एक गम्भीर घाइते
  • नवकिरण
  • जेष्ठ ११, २०८२

बर्दिया, जेठ ११ – बर्दियाको मधुवन नगरपालिका–८ स्थित हुलाकी सडकखण्डअन्तर्गत लालसिंह चोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा गुलरिया नगरपालिका–२ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादव र मधुवन नगरपालिका–८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसी रहेका छन्। देवानन्द यादवले चलाएको भे १३ प २६६९ र टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा घटनास्थलमै दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ।

देवानन्द यादवको मोटरसाइकलमा सवार गुलरिया–२ निवासी अन्दाजी ३२ वर्षीय अनुपम यादव गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको र अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले जानकारी दिए।

घटनापछि घाइतेहरूलाई तत्काल बर्दिया अस्पताल गुलरिया लगिएकोमा चिकित्सकले दुईजनालाई मृत घोषणा गरेका थिए। दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।