काठमाडौँ, जेठ १६ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असन्तुष्टि गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति रहेको स्पष्ट पारेका छन्।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले जनताले गणतन्त्रबाट नै जीवनमा परिवर्तनको अपेक्षा राखेको बताएका छन्। तर सरकारको गलत काम, भ्रष्टाचार, सुशासनको अभाव र सामाजिक विभेदजस्ता कारणले जनतामा निराशा उत्पन्न भएको स्वीकार गरे।
उनले वर्तमान सरकारको कमजोरीको फाइदा उठाउँदै राजावादी शक्तिहरूले जनतालाई भड्काउने प्रयास गरिरहेको आरोप पनि लगाए। “सरकारप्रति देखिएको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजिरहेका छन्,” प्रचण्डले भने।
गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा जनमत सङ्ग्रह गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले त्यसलाई ‘वाहियात’ भन्दै खारेज गरे। उनले संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेकाले अब जनमत सङ्ग्रह आवश्यक नरहेको बताए।
“जनमत सङ्ग्रह त धेरै तल्लो कुरा हो, गणतन्त्र त जनताको शतप्रतिशत म्यान्डेटबाट आएको हो,” उनले प्रष्ट पारे।
अध्यक्ष प्रचण्डले आफूले तराई र मध्यपहाडी क्षेत्रका लाखौं जनतालाई प्रत्यक्ष भेटेको उल्लेख गर्दै जनतामा गणतन्त्रप्रति कुनै निराशा नभएको दाबी पनि गरे। उनले सरकारका कामकारबाही सुधार नगरेसम्म जनताको विश्वास पुनःस्थापना हुन नसक्ने चेतावनी समेत दिए।