गोरखा, जेठ २२ – गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–५ मा ज्याला मजदुरी गरी जीविका चलाउँदै आएकी एक महिलामाथि जिल्ला समन्वय समिति (जिसस) गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान् रामचन्द्र देवकोटाले कुटपिट गरेका छन्।
पीडित ३५ वर्षीया कल्पना धितालका अनुसार करेसा सफा गरेको ज्यालाको पैसा माग्न जाँदा देवकोटा दम्पतीले उनको कपाल समातेर लछारपछार गर्दै कुटपिट गरेका थिए। देवकोटा दम्पतीका कारण पटक–पटक दुर्व्यवहार भोग्नुपरेको धितालको भनाइ छ।
‘उनीहरू नाताले मेरा जेठाजु र जेठानी पर्नुहुन्छ’, धितालले भनिन्, ‘पैसा माग्न जाँदा लछारपछार गर्दै कुटपिट गर्नुभयो।’ कुटपिटबाट घाइते भएकी धितालको स्थानीय भच्चेक स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि गोरखा अस्पतालमा थप उपचार गरिएको थियो। अहिले उनी घर फर्किएकी छन्।
नेकपा माओवादीबाट निर्वाचित जिसस सदस्य इन्दिरा देवकोटाका श्रीमान् रामचन्द्र देवकोटा स्यार्तान आधारभूत विद्यालयका निवृत्त शिक्षक हुन्। पीडितका अनुसार जनप्रतिनिधिको हैसियतमा देवकोटा दम्पतीले धम्क्याउने र तर्साउने गरेका छन्।
कल्पना धितालकी १३ वर्षीया छोरी आयुषा धितालका अनुसार देवकोटा दम्पतीले उनकी आमामाथि पाँच सय रुपैयाँको ज्यालाका लागि पानीमा मुख डुबाउने, कपाल समाएर तान्ने जस्ता दुर्व्यवहार गरेका थिए। ‘म आमा कराएको सुनेर पुगेँ, कुटपिट भइरहेको भिडियो पनि खिचेँ’, उनले भनिन्, ‘अहिले त्यो भिडियो डिलिट गर्न धम्की दिइएको छ, तर मसँग सुरक्षित छ।’
सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीय युवाहरूले भिडियो सेयर गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। यता, घरको तनाव र निरन्तरको डरका कारण पीडितकी छोरी आयुषाले अध्ययन पनि छोडेको जनाएकी छन्।
‘पढ्न मन लाग्दैन, आमा कहिले पिटिन्छिन् भन्ने चिन्ताले पढ्नै सक्दिन’, उनले भनिन्।
पीडित कल्पनाका श्रीमान् तुलसीप्रसाद धिताल जनप्रभात प्राविमा कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। घटनाबारे प्रतिक्रिया लिन खोज्दा जिसस सदस्य इन्दिरा देवकोटाले फोनमा कुरा गर्न अस्वीकार गरेकी छन्।