काठमाडौं, जेठ २२ – सर्वोच्च अदालतले काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको निषेधाज्ञा विरुद्ध दर्ता गर्न लागिएको रिट अस्वीकार गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीहरुको आन्दोलन लक्षित गर्दै गत आइतबार निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञामा कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्य स्थानमा कुनै पनि प्रकारका प्रदर्शन गर्न नपाउने उल्लेख गरिएको छ।
उक्त निर्णयविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले रिट दर्ता गर्न खोजेका थिए। तर सर्वोच्च अदालतको प्रशासनले सो रिट दर्ता गर्न अस्वीकार गरेको हो।
भद्रप्रसाद नेपालले भने रिट दर्ता अस्वीकार गरिएको निर्णयविरुद्ध पुनः निवेदन लिएर सर्वोच्च अदालत जाने बताएका छन्।