बुटवल, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२, अवरैयामा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार २७ वर्षीय हेमराज थारूले आफ्ना ५० वर्षीय बुबा जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्।
प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार हेमराजले पहिलोप्रहार आफ्ना बुबाको घाँटीमा गरेका थिए, जसका कारण घटनास्थलमै जयरामको मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारको पनि टाउको र घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। धरिकारको पनि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। हाल हेमराज थारूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखेर सोधपुछ भइरहेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।