अत्यधिक पिरो खानाले आवाज गुमाएपछि रेष्टुरेन्टविरुद्ध मुद्दा


अत्यधिक पिरो खानाले आवाज गुमाएपछि रेष्टुरेन्टविरुद्ध मुद्दा
  • नवकिरण
  • जेष्ठ २४, २०८२

अमेरिका, जेठ २४ – अमेरिकाको क्यालिफोर्नियास्थित स्यान होजे शहरकी एक महिला न्युरोलोजिस्टले अत्यधिक पिरो खाना खाँदा आवाज नै गुमेपछि थाइ रेष्टुरेन्टविरुद्ध मुद्दा दायर गरेकी छन्।

डा. हरजसलीन वालियाले ‘कूप डी थाई’ नामक रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खाना परोसेको र आफूले त्यसबारे पहिले नै सतर्क गराएको भए पनि बेवास्ता गरिएको आरोप लगाएकी हुन्।

उनले सन् २०२३ मा उक्त रेष्टुरेन्टमा गएर ‘ड्रागन बल्स’ नामक परिकार अर्डर गरेकी थिइन्। अर्डर गर्दाखेरी उनले वेट्रेसलाई मसला कम गर्न अनुरोध गरेकी थिइन् र वेट्रेसले सहमति पनि जनाएकी थिइन्। तर, उनलाई परोसेको खाना अत्यधिक पिरो भएको आरोप उनले लगाएकी छन्।

पहिलो गाँस खाँदा नै उनको मुख, जिब्रो र घाँटीमा गम्भीर जलन भएको, आँखाबाट आँसु र नाकबाट पानी बगेको, र उनी लगातार खोकी लाग्न थालेको उनले बताएकी छन्। उनका अनुसार, उक्त पिरो मसालाका कारण स्वरयन्त्र, अन्ननली र नाकमा स्थायी क्षति पुगेको छ र अहिले उनको आवाज नै गुमेको छ।

पीडित डाक्टर वालियाले तत्काल राहतका लागि दूध वा आइसक्रिम मागे पनि रेष्टुरेन्टले केही पनि नदिएको जनाएकी छन्। पछि उनले नरिवल पानी पिएर राहत लिने प्रयास गरिन् तर त्यसले पनि काम गरेन।

उनको उजुरी अनुसार, यस्तो अत्यधिक पिरो खाना आम उपभोक्ताका लागि उपयुक्त हुँदैन र रेष्टुरेन्टले स्वास्थ्य सुरक्षालाई बेवास्ता गर्दै आपतकालीन सेवा वा विशेषज्ञसँग परामर्श पनि गरेको थिएन।

यता, रेष्टुरेन्टका तर्फबाट भने ती सबै आरोप अस्वीकार गरिएको छ। रेष्टुरेन्टका प्रतिनिधिले ‘ड्रागन बल्स’ परिकारभित्र खुर्सानी पहिले नै मिसिइसकेको हुँदा मसला घटाउन नसकिने बताएका छन्। साथै, अहिलेसम्म अरू कुनै ग्राहकबाट यसबारे गुनासो आएको पनि छैन भन्ने दाबी गरिएको छ।

यस मुद्दा हाल क्यालिफोर्नियाको अदालतमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।