प्रचण्डले विपक्षी दलको बैठक बोलाए, संसद गतिरोध अन्त्यबारे छलफल हुने


प्रचण्डले विपक्षी दलको बैठक बोलाए, संसद गतिरोध अन्त्यबारे छलफल हुने
  • नवकिरण
  • जेष्ठ २५, २०८२

काठमाडौं, जेठ २५ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक आह्वान गरेका छन्। बैठक आइतबार मध्याह्न १२ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्ने तय गरिएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिँदै बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग र त्यसले प्रतिनिधि सभाको बैठकमा पारेको प्रभावबारे विस्तृत छलफल हुने बताए।

यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुतिका क्रममा विपक्षी दलहरूले अवरोध नगरे पनि त्यसयता बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन।

शनिबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संसद् गतिरोध अन्त्यका विषयमा महत्वपूर्ण भेटवार्ता भएको थियो। उक्त भेटमा भएका संवाद र सहमतिको विषयमा प्रचण्डले आजको विपक्षी बैठकमा ब्रिफिङ गर्ने बताइएको छ।

विपक्षी दलहरूले सरकारसँग भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन् तर सत्तापक्ष उक्त मागप्रति सकारात्मक देखिएको छैन। यस विषयमा आजको बैठक निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ।