प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग


प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग
  • नवकिरण
  • जेष्ठ २५, २०८२

काठमाडौं, जेठ २५ – प्रतिनिधिसभाको बैठक जेठ १३ गतेदेखि लगातार अवरोधको सामना गर्दै आएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरू बैठक अवरुद्ध गरिरहेका छन्।

बैठक सञ्चालनमा अवरोध भइरहे पनि समस्याको समाधानका लागि विभिन्न तहमा छलफल र सहमतिको प्रयास भइरहेको छ। कांग्रेस र एमालेबीच छानबिन समिति गठनसम्बन्धी सहमति जुटाउने प्रयास जारी छ। माओवादी केन्द्र र रास्वपाको प्रस्ताव अनुसार मध्यमार्गी समाधानतर्फ कांग्रेस लचक देखिएको छ।

कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि भिजिट भिसा प्रकरणको समग्र अध्ययन गर्न विशेष छानबिन समिति गठनको प्रस्ताव अघि सारेको छ। उक्त समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जाने प्रक्रियामा अपारदर्शी आर्थिक लेनदेन भएको छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्ने कार्यक्षेत्र तोक्ने प्रस्ताव गरिएको छ।

हालसम्म स्पष्ट सहमति जुट्न सकेको छैन भने संसद् बैठक सञ्चालनमा अन्योल कायमै रहेको छ।