काठमाडौं, जेठ २६– अमेरिकाबाट अध्यागमन (इमिग्रेशन) कानुन उल्लंघन गरेको अभियोगमा ३७ जना नेपालीहरूलाई डिपोर्ट गरिएको छ। उनीहरू आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बोरा बोकेर स्वदेश फर्किएका हुन्। कतिपय रित्तो हातमै नेपाल फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार डिपोर्ट गरिएकामध्ये ३२ जना पुरुष र ५ जना महिला छन्। अमेरिका सरकारले उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल पठाएको हो। विमानमा हत्कडी लगाइएको थियो कि थिएन भन्ने स्पष्ट नभए पनि नेपाल आइपुग्दा उनीहरू सामान्य अवस्थामा रहेको बताइएको छ।
उनीहरू आइतबार राति करिब ९ बजे विमानस्थलमा अवतरण गरेका थिए भने करिब १२ बजे उनीहरू बाहिरिएका थिए। अमेरिकामा अध्यागमन नीतिहरू पछिल्ला वर्षहरूमा कडाइ हुँदै गएका छन्। विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि आप्रवासीहरूप्रति कठोर नीति अपनाइएको छ।
भिसा नलिएर वा भिसा सकिएको समयमा पनि बसेका, कानुनी प्रक्रिया नपु¥याएका तथा गलत गतिविधिमा संलग्न रहेका व्यक्तिहरूमाथि अमेरिका सरकारले निगरानी राख्दै आएको छ। स्रोतका अनुसार डिपोर्ट हुने नेपालीहरू प्रायः दलाललाई मोटो रकम बुझाएर अवैध रूपमा अमेरिका पुगेका थिए।
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र १४० जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ। जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली डिपोर्ट भएका छन्।
यसअघि सन् २०२१ मा ३५ जना, सन् २०२२ मा २२ जना, सन् २०२३ मा २४ जना र सन् २०२४ मा ५२ जना नेपाली डिपोर्ट भएका थिए। डिपोर्ट गरिएकाहरूमाथि मानव बेचबिखन नियन्त्रण ब्युरोले प्रारम्भिक सोधपुछ गरी घर जान दिने गरेको छ। यदी कसैले दलालविरुद्ध उजुरी गरेमा मात्र अनुसन्धान प्रक्रिया अघि बढ्ने गरिन्छ।