थाइल्याण्ड, जेठ ३०- थाइल्याण्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि शुक्रबार बिहान आपतकालीन अवतरण गराइएको छ।
AI-379 नम्बरको उक्त उडान बिहान ९:३० बजे (थाइल्याण्डको समयअनुसार) फुकेट विमानस्थलबाट उडेको केही समयमै बम राखिएको हुनसक्ने सूचना आएपछि विमान आकस्मिक रूपमा अवतरण गरिएको हो। विमानमा १५६ जना यात्रु सवार थिए।
फुकेट विमानस्थलका अधिकारीका अनुसार बमको सम्भावित खतरा देखिएपछि सुरक्षाका मापदण्डअनुसार तत्कालै आपतकालीन प्रोटोकल कार्यान्वयन गर्दै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
फ्लाइटराडार२४ को डेटा अनुसार, जहाजले अण्डमान सागरमाथि ठूलो घेरा लगाएर फुकेटमै पुनः अवतरण गरेको देखिन्छ। AOT (Airports of Thailand) ले भने हालसम्म बमको धम्की सम्बन्धी थप जानकारी सार्वजनिक गरेको छैन।
यस घटनाले यात्रुहरू र विमानस्थलमा रहेका कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको छ।
यता, यसअघि बिहीबार भारतको अहमदाबादमा एयर इन्डियाको अर्को विमान दुर्घटनाग्रस्त हुँदा २४१ जनाको मृत्यु भएको पुष्टि भएको थियो। उक्त विमान एक मेडिकल कलेजको होस्टेलमा खसेको थियो।
अहिले थाइल्याण्डका सुरक्षा अधिकारीहरूले बम धम्कीबारे थप अनुसन्धान गरिरहेका छन्।