पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश


पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश
  • नवकिरण
  • अषाढ २, २०८२

काठमाडौं, असार २ – पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी मुद्दामा अनुसन्धान गर्न नेपाल प्रहरीले अनुमति लिएको भए पनि उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो।

पाठकले आफूलाई गैरकानुनी रूपमा पक्राउ गर्न खोजिएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि अदालतले पक्राउ प्रक्रिया रोक्न अल्पकालीन आदेश जारी गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार अदालतले ५ असारमा दुवै पक्षको बहसपछि स्थायी आदेश दिनेछ।

‘अहिलेलाई अदालतले पक्राउ गर्न नपाउने आदेश दिएको छ,’ अधिवक्ता त्रिपाठीले भने, ‘५ गतेको बहसपछि अन्तिम निर्णय हुनेछ।’

यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिई पाठकविरुद्ध साइबर अपराधअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।