काठमाडौँ, असार ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न सरकारसँग आग्रह गरेकी छन्।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले रुस र युक्रेनको युद्धमा नेपालीहरू भिजिट भिसाको माध्यमबाट पुगेको उल्लेख गरिन्। उनले यस्तो गम्भीर विषयमा सरकारले चासो नदिएकोप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “जनताको आवाज उठाउँदा पनि सरकार बेखबर देखिन्छ।”
सांसद कार्कीले गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा संलग्न भएको आरोप लगाउँदै भनिन्, “सुशासन कायम गर्ने हो भने गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ।” उनले पैसा कमाउने नाममा देश बेच्ने प्रवृत्तिको तीव्र विरोध गर्दै गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग पनि गरिन्।
उनको भनाइमा, यो विषय गम्भीर अनुसन्धानको खाँचो भएको मुद्दा हो र यसको छानबिनका लागि अविलम्ब उच्चस्तरीय समिति गठन गर्नुपर्ने छ। संसदमा उनले पार्टीको अडान स्पष्ट पार्दै भनिन्, “भिजिट भिसा प्रकरण अब लुकाएर बस्ने अवस्था छैन, गृहमन्त्रीको जवाफदेही र छानबिन आवश्यक छ।”