ललितपुर, असार ९ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालका पदाधिकारीहरूलाई अनुशासित, सशक्त र विचारशील भएर पार्टी र देशको पक्षमा जुझारु भूमिकामा उत्रिन आग्रह गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरू भ्रममा परेमा देशमा परिवर्तन र प्रगतिका गति सुस्त हुने चेतावनी दिए। उनले युवाहरूलाई व्यक्तिको पछि लाग्ने होइन, विचार र सही नेतृत्वको पक्षपोषण गर्ने संस्कार विकास गर्न निर्देशन दिए।
“युवा संघको काँधमा अहिले असाधारण जिम्मेवारी छ। स्थानीय तहको अर्को निर्वाचनसम्म यो नेतृत्व रहनेछ। त्यसैले नेतृत्वले सिंगो योजना बनाएर नयाँ इतिहास रच्नुपर्छ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीलाई सुदृढ र संगठित बनाउन युवाहरूलाई वैचारिक रूपमा स्पष्ट र सांगठनिक रूपमा बलियो बनाउने खाँचो रहेको उल्लेख गर्दै जब आवश्यक पर्छ, तब आन्दोलनमा जुझारु रूपमा उत्रिने योजना बनाउनुपर्ने बताए।
“विपक्षीहरूले फैलाएका भ्रमको खण्डन गर्नुहोस्। व्यक्तिको होइन, विचारको पछि लाग्नुहोस्,” ओलीले स्पष्ट सन्देश दिए।
उनले विश्वभर नवप्रवर्तन (इनौभेसन) को नेतृत्व युवाहरूले नै गरिरहेको उल्लेख गर्दै नेपाली युवाहरूले पनि आफ्नो क्षेत्रमा दक्षता हासिल गर्दै उपलब्धिमूलक काममा लाग्नुपर्ने बताए।
“सही बाटोमा हिँड्ने युवाले देशलाई पनि सही बाटोमा डोहोर्याउँछ। युवालाई भ्रमित बनाउने वा कमजोर बनाउने प्रयास भयो भने परिवर्तनको गति नै सुस्त हुन्छ,” प्रधानमन्त्रीको तर्क थियो।
साथै, ओलीले पार्टी इतिहासतर्फ संकेत गर्दै भने, “जबज (जनताको बहुदलीय जनवाद) पारित भएपनि सही नेतृत्वको अभावमा आन्दोलन रुमलियो। जब नेतृत्व मिलेपछि पार्टी सुस्पष्ट र मजबुत भएर अघि बढ्यो।”
प्रधानमन्त्री ओलीले पार्टी एकताको अनुभव सुनाउँदै भने, “हामीलाई सिध्याउने प्रयास भए पनि हाम्रो विचार र नेतृत्वको बलमा हामी मजबुत भयौं। एमालेसँग त्यो सामर्थ्य छ।”
युवाहरूलाई चेतावनी दिँदै ओलीले भने, “हाम्रा युवाहरू घमण्डी, दम्भी होइन, क्षमतावान, विनम्र र शालीन हुनुपर्छ। गुण्डा होइन, बलवान बन्नुपर्छ। तर कसैले गालामा पिटे भने ‘ओम शान्ति’ भन्दै बसेर अन्याय सहनु हुँदैन। युवा संघले अन्याय सहँदैन, र अन्याय गर्दैन भन्ने सन्देश दिन सक्नुपर्छ।”