हेटौंडा, असार १२ – मकवानपुर जिल्ला अदालतले आफ्नै भाउजूको हत्या गरेको अभियोगमा एक युवकलाई ३५ वर्ष कैद सजायको फैसला सुनाएको छ।
हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल निवासी २२ वर्षीय राहुल दासलाई अदालतले भाउजू गुडिया दासको हत्या र दाजु रुपेश दासको हत्या प्रयास गरेको ठहर गर्दै कैद सजाय दिएको हो।
न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार फैसला सुनाउँदै राहुललाई गुडियाको हत्या अभियोगमा २५ वर्ष र रुपेशको हत्या प्रयास अभियोगमा थप १० वर्ष गरी जम्मा ३५ वर्ष कैद सजायको निर्णय सुनाएको हो।
अदालतका सूचना अधिकारी केशव कौशिकका अनुसार मृतक गुडियाका नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति तथा एक लाख रुपैयाँ जरिवाना भराउने आदेशसमेत दिइएको छ। त्यस्तै घाइते दाजु रुपेशको उपचार खर्च समेत दोषी राहुलले नै व्यहोर्नुपर्ने अदालतले फैसला गरेको छ।
गत चैत १२ गते राति राहुलले कोठामा सुतेकी आफ्नी भाउजू गुडियामाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए। त्यसपछि माहिला दाजु रुपेशमाथि पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
लागुऔषधको दुरुपयोग गर्दै आएका राहुललाई उनका दाजु–भाउजूले पटक–पटक सम्झाइरहेका थिए। उनीहरूको यही आग्रहप्रति चिढिएको राहुलले हत्या जस्तो जघन्य अपराध गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हाल दोषी राहुल भीमफेदी कारागारमा रहेका छन्।