काठमाडौं, असार १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमविरुद्धको ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्न माग गरेकी छन्।
महान्यायाधिवक्ताको कार्यालयमा पत्र लेख्दै सांसद श्रेष्ठले उच्च अदालत वीरगञ्जबाट आलमलाई सफाइ दिने फैसला अस्वीकार्य भएको भन्दै उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न आग्रह गरेकी हुन्।
श्रेष्ठको पत्रमा उल्लेख छ, “राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएकोले तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेका थिए। तर सर्वोच्च अदालतको आदेशपछि एक दशकपछि मात्र मुद्दा अघि बढाइएको थियो। अहिले आएर उच्च अदालतबाट अभियुक्तलाई सफाइ दिने गरी गरिएको फैसला अनपेक्षित छ। त्यसैले सो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचित प्रतिरक्षा गर्न जरुरी छ।”
१४ जेठ २०८२ मा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो। सो फैसलामा संलग्न न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि न्याय परिषद्ले छानबिन थालेको छ।
संविधान सभाको पहिलो निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित एक इँटाभट्टामा मानिसहरूलाई जिउँदै जलाएर हत्या गरिएको आरोप आलममाथि लागेको थियो। घटनाको १२ वर्षपछि २०७६ असोज १९ गते रौतहट प्रहरीले उनलाई पक्राउ गरेको थियो।
आलममाथि आफ्ना काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा घाइते भएका त्रिलोकप्रताप सिंह, ओशी अख्तरलगायतलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको हो।
सांसद श्रेष्ठले पत्रमा यस्तो “अत्यन्तै पासविक अपराध”मा संलग्न भनिएका व्यक्तिलाई सफाइ दिने फैसलाले पीडित परिवार तथा आम नागरिकलाई मर्माहत र आक्रोशित बनाएको उल्लेख गरेकी छन्।