कुलिङ पिरियडमा हेरफेरबारे सभामुखको ध्यानाकर्षण गरिँदै


कुलिङ पिरियडमा हेरफेरबारे सभामुखको ध्यानाकर्षण गरिँदै
  • नवकिरण
  • अषाढ १७, २०८२

काठमाडौं, असार १७ – संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै राज्य व्यवस्था समितिका सदस्यहरूले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।

आज बिहान १० बजे सभामुख घिमिरेलाई भेट्ने कार्यक्रम तय भएको नेपाली कांग्रेसकी सांसद तथा राज्य व्यवस्था समितिकी सदस्य सरिता प्रसाईंले जानकारी दिइन्। “हामीले सर्वसम्मतिले पास गरेको प्रतिवेदन संसदमा हेरफेर भएर आएको विषयमा सभामुखलाई भेटेर स्पष्ट गर्न लागिएको हो,” उनले भनिन्।

राज्य व्यवस्था समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश लिएपछि दुई वर्षसम्म कुनै पनि सरकारी पदमा नियुक्ति दिन नपाउने व्यवस्था गरिएको थियो। तर प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा सो व्यवस्था हेरफेर गरिएको भन्दै समितिका सदस्यहरू असन्तुष्ट बनेका छन्।

यस विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उक्त हेरफेरलाई “घोर आपराधिक कार्य” र “सार्वभौम संसदप्रति अपमान” भएको बताएका छन्।