रसुवामा चार स्थानमा खसेको पहिरोले पासाङल्हामु राजमार्ग पूर्ण अवरुद्ध


रसुवामा चार स्थानमा खसेको पहिरोले पासाङल्हामु राजमार्ग पूर्ण अवरुद्ध
  • नवकिरण
  • अषाढ १८, २०८२

काठमाडौं, असार १८  – रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार स्थानमा पहिरो खसेपछि पासाङल्हामु राजमार्ग दुईतर्फी रूपमा पूर्णरूपमा अवरुद्ध भएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।

तातोपानी डाँडा र बालुवाखानी क्षेत्रमा आज बिहान करिब ५ बजे पहिरो खसेको थियो। उक्त क्षेत्रमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङको नेतृत्वमा टोली खटिएको छ।

यसैगरी, फ्याङलुङ र लिङलिङ क्षेत्रमा बिहान करिब ३ बजे पहिरो खसेको हो। ती स्थानहरूमा स्याफ्रुबेँशीबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर थापाको टोली परिचालित भएको प्रहरीले जनाएको छ।

अवरुद्ध राजमार्ग खुलाउनका लागि प्रहरी टोली प्रयासरत छन् भने रसुवागढी हाइड्रोपावरसँग समन्वय गरी डोजरमार्फत पहिरो पन्छाउने काम थालिएको छ।

पहिरो खसेका स्थानहरू इलाका प्रहरी कार्यालय टिमुरेबाट झन्डै ३ किलोमिटर दक्षिणतर्फ पर्छन्। हालसम्म मानवीय क्षति नदेखिए पनि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।

प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।