पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सेवा सुविधा नलिने निर्णय, गृह मन्त्रालयमा पठाइन् पत्र


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सेवा सुविधा नलिने निर्णय, गृह मन्त्रालयमा पठाइन् पत्र
  • नवकिरण
  • अषाढ १८, २०८२

काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षाबाहेक अन्य सबै सेवा सुविधा नलिने निर्णय गर्दै गृह मन्त्रालयलाई पत्र पठाएकी छन्।

उनको स्वकीय सचिव राजकुमार राईमार्फत बुधबार गृह मन्त्रालयमा पठाइएको पत्रमा आज (बुधबार) देखि लागू हुने गरी सबै सेवा सुविधा फिर्ता गरिएको उल्लेख गरिएको छ। पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार अबदेखि सरकारबाट दिइँदै आएको कुनैपनि भत्ता वा सेवा सुविधा उनले लिने छैनन्।

गृह मन्त्रालय स्रोतका अनुसार पत्रमा भनिएको छ, “पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि नेपाल सरकारले पूर्व राष्ट्रप्रमुखलाई उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक अन्य कुनैपनि सुविधा नलिने निर्णय गर्नुभएको छ। सो निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन अनुरोध गर्दछु।”

नेपाल सरकारले पूर्वराष्ट्रपतिलाई मासिक भत्ता, आवास भाडा, इन्धन, टेलिफोन, पत्रपत्रिका, बिजुली, पानी, इन्टरनेट खर्च, अतिथि सत्कार खर्च, तथा उपसचिव, चालक र कार्यालय सहयोगीसहितको सचिवालय सेवा प्रदान गर्दै आएको छ।

यद्यपि भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आवास र सवारी सुविधा नलिएर काठमाडौंको भंगालस्थित आफ्नो निजी निवासमै बस्दै आएकी छन्।

हालै मात्र भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छिन्। उनले पार्टी सदस्यता नवीकरण गर्दै पुनः राजनीतिक क्रियाशीलता देखाएकी हुन्।

भण्डारीले यसरी राज्यका सेवा सुविधाबाट स्वेच्छाले अलग रहने निर्णयलाई धेरैले सकारात्मक सन्देशका रूपमा लिएका छन्।