कमल थापा भन्छन् – “मुलुक भ्रष्टाचारमा चुर्लुम्म, अब राजसंस्था जरुरी छ”


कमल थापा भन्छन् – “मुलुक भ्रष्टाचारमा चुर्लुम्म, अब राजसंस्था जरुरी छ”
  • नवकिरण
  • अषाढ १९, २०८२

काठमाडौं, असार १९ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक गम्भीर भ्रष्टाचार, छाडातन्त्र र विदेशी हस्तक्षेपको चपेटामा परेको भन्दै यस्तो संकट समाधानका लागि राजसंस्थाको पुनःस्थापनाको आवश्यकता रहेको बताएका छन्।

बुधबार राजधानीमा पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राज्य प्रणाली नै संस्थागत भ्रष्टाचारमा फसेको र नेताहरू स्वार्थ, लुट र विदेशी प्रभावमा चलिरहेको गम्भीर आरोप लगाए।

उनले भने, “देशमा आज अभिभावकत्वको अभाव छ। यही अभावका कारण मुलुक अस्थिर, अनियन्त्रित र विदेशी चलखेलको केन्द्र बनेको छ।”

धर्मनिरपेक्षताको नाममा देशमा जबर्जस्ती धर्म परिवर्तनको लहर चलेकोप्रति पनि थापाले गहिरो चिन्ता व्यक्त गरे। उनका अनुसार यस्ता गतिविधिले मुलुकको सांस्कृतिक र धार्मिक पहिचानमाथि खतरा उत्पन्न गराएको छ।

थापाले स्पष्ट रूपमा भने, “राजसंस्था भनेको हाम्रो राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको आधार हो। अहिलेको अवस्थालाई सम्बोधन गर्न यो वैचारिक मार्ग आवश्यक भइसकेको छ।”

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अञ्जना शाह रावल र जिवछ मिश्रले पनि वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक परिस्थितिबारे धारणा राखेका थिए।

उनीहरूले पनि देशमा बढ्दो विकृति र विदेशी प्रभाव रोक्न वैकल्पिक शक्तिका रूपमा राजसंस्थाको आवश्यकता औंल्याएका थिए।