चितवन, असार २० – चितवनको रत्ननगर नगरपालिका–८ मा राति माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट ज्यान गएको छ। मृतक २६/२७ वर्षीय अभिषेक माझी रहेका छन्।
चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति अभिषेक माझी आफ्ना ४०/४५ वर्षीय साथी राजकुमार माझीसँग माछा मार्न गएका थिए। माछा मार्ने क्रममा गोहीले अभिषेकलाई आक्रमण गरी खोलातिर तानेको प्रहरीले जनाएको छ।
घटना राति १ बजेर २० मिनेटको समयमा भएको हो। घटनास्थलबाट करिब २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। चितवनका नदी तथा खोलामा गोहीको जोखिम बढ्दो रहेको सन्दर्भमा स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।