काठमाडौँ, असार २० — सभापति रवि लामिछाने जेलमा रहेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी फागुन ७, ८ र ९ गते चितवनमा हुने भनिएको महाधिवेशन अन्योलमा परेको छ।
सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। उनीमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाहरू विभिन्न जिल्लाका अदालतमा विचाराधीन छन्।
यसअघि वैशाख २५–२७ मा हुने भनिएको महाधिवेशन पनि लामिछानेकै कारण सारिएको थियो। हाल रास्वपाको संगठन निर्माण अन्तर्गत ७० प्रतिशत वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकीमा तयारी भइरहेको जानकारी महामन्त्री कविन्द्र बुर्लाकोटीले दिए।
महामन्त्री बुर्लाकोटीका अनुसार सभापति थुनामा भए पनि महाधिवेशनको मिति तय गर्न कानुनी परामर्श भइरहेको छ। पार्टीका प्रवक्ता मनिष झाले पनि निर्धारित मितिमै महाधिवेशन हुने विश्वास व्यक्त गरेका छन्।
तर, लामिछानेकै ब्राण्डमा जन्मिएको रास्वपामा उनीविना महाधिवेशन सम्भव छ कि छैन भन्ने विषयमा पार्टीभित्र अझै स्पष्ट निष्कर्ष ननिस्किएको देखिन्छ। संविधानअनुसार दर्ता भएको पार्टीले पाँच वर्षभित्र महाधिवेशन अनिवार्य गर्नु पर्नेछ।
रास्वपाले २०७९ को आम निर्वाचनमा २१ सिट जितेर उदाएको थियो। तर सभापतिको कानुनी समस्याले पार्टीको भविष्यमा गम्भीर असर पार्न सक्ने देखिन्छ।