काठमाडौं, असार २२ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा लगेज लिन धेरै समय लाग्ने गुनासो सामान्य देखिए पनि यसको मूल कारण भौतिक पूर्वाधारको सीमितता रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले टिआइएको क्षेत्र साँघुरो भएकोले यात्रुहरू जहाजबाट ओर्लिएपछि तुरुन्तै टर्मिनल भवनमा आइपुग्ने र त्यसैले लगेज ढिलो आएको जस्तो महसुस हुने बताए।
उनले भने, “अन्य देशमा यात्रुहरूले जहाजबाट ओर्लिएर लगेज लिने ठाउँमा पुग्न नै समय लाग्छ, तर हाम्रो विमानस्थलमा दूरी कम भएकाले मानिस चाँडै आइपुग्छन्। लगेज आउन समय लागे पनि प्रतिक्षा लामो लागेको जस्तो देखिन्छ।”
मन्त्री पाण्डेका अनुसार त्रिभुवन विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रुको भए पनि पछिल्लो वर्ष ९५ लाख यात्रु ओहोरदोहोर गरेका छन्। “दोब्बर यात्रु भार थेग्नु परिरहेको अवस्थामा पनि सेवा प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको छ,” उनले स्पष्ट पारे।
त्यस्तै उनले चीनको मानसरोवर तीर्थयात्रामा जाने नेपाली पर्यटकहरूका लागि चिनियाँ दूतावासले बिना पूर्व सूचना भेरिफिकेसन प्रक्रिया लागू गरेपछि समस्या उत्पन्न भएको जानकारी दिए। मन्त्री पाण्डेले उक्त विषयमा सरकारको तर्फबाट चिनियाँ दूतावाससँग ध्यानाकर्षण गराइएको पनि बताए।
उनले हवाई पूर्वाधार सुधार र सेवा छरितो बनाउने विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सुधारका पहल गरिने प्रतिबद्धता व्यक्त गरे।